अवरुद्ध खानेपानी आयोजना सम्पन्न हुने

image

2019-05-27

अवरुद्ध खानेपानी आयोजना सम्पन्न हुने 
लामो समयदेखि प्राविधिक कारणले निर्माण सम्पन्न हुन नसकेको रौतहट जिल्लाको पतौरा खानेपानी तथ सरसफाइ आयोजनाका उपभोक्ताले आगामी असार १५ देखि खानेपानीको सुविधा पाउने भएका छन् । 
अगामी असार १५ सम्ममा समुदायमा स्वच्छ खानेपानी प्रणाली सुचारु गर्ने सम्बन्धी सम्झौतामा यही जेठ १३ गते कोष विकास समितिको कार्यालयमा कोष विकास समिति, सहयोगी संस्था र उपभोक्ता समिति बीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कोष विकास समितिका कार्यकारी निर्देशक श्री लिला प्रसाद ढकाल, सहयोगी संस्थाका अध्यक्ष श्री हरिशंकर राम र उपभोक्ता समितिका अध्यक्ष श्री चन्द्रशेखर साहले हस्ताक्षर गर्नु भएको थियो । उक्त समयमा मौलापुर नगरपालिका वडा नं.  ५ का वडाध्यक्ष श्री बहिदार राउत कुर्मीको समेत उपस्थिति रहेको थियो ।
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग तथा सहयोगी संस्था दलित जनजाति उत्थान केन्द्रको प्राविधिक सहयोग तथा सहजीकरणमा गत २०७१ फागुनमा यो आयोजना सम्पन्न गर्ने सहमति भएको थियो । तत्कालीन समयमा ३६४ घर परिवरका २१०७ जनसंख्याका लागि खानेपानी र सरसफाइ सुविधा उपलब्ध गराउने गरी काम शुरु भएकोमा विभिन्न कारणवश खानेपानी तर्फको काम अवरुद्ध रहेको थियो । हाल सम्पूर्ण अवरोधहरु हटेकोले सम्बन्धित पक्षहरु उल्लेखित मितिमा आयोजना सम्पन्न गर्न प्रतिबद्ध भएका हुन्। 
५७ वटा सामुदायिक धारा तथा एउटा संस्थागत शौचालय पनि निर्माण भइसकेको यो आयोजना डिप बोरिङ प्रविधिमा आधारित छ । यस आयोजनामा परम्परागत रुपमा बनाइने सिमेन्टको ट्याङ्कको साटो स्टिल जिङ्क ट्याङ्क राखिएको छ।